श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज घरेलु टिम बंगलादेशले एक खेल अगावै जितेको छ।
बंगलादेशले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज पहिलो पटक जित्दै इतिहास बनाएको हो।
मंगलबार राति सकिएको दोस्रो एकदिवसीय खेलमा श्रीलंकालाई डिएल मेथडमा १०३ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले सानदार जित हात पारेको हो।
यसअघि पहिलो खेलमा पनि बंगलादेश विजयी भएको थियो।
जितसँगै बंगलादेश आइसिसी क्रिकेट विश्वकप सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा ८ खेल खेलेको बंगलादेशले ५० अंक जोडेको छ। दोस्रो स्थानको इंग्ल्यान्डको ४० अंक छ।
मंगलबार ढाकामा पहिले ब्याटिङ गरेको बंगलादेश ४८.१ ओभरमा २४६ रनमा अलआउट भयो।
उसका लागि मुस्फिकर रहिमले १२५ रनको योगदान दिए। उनले १२७ बलमा १० चौका प्रहार गरे। मोहमुदुल्लाहले ४१ रन जोड्दा लिन्टन दासले २५ रनको योगदान दिए।
बलिङमा श्रीलंकाका लक्षण सन्दाकनले ३ विकेट लिए।
वर्षाले प्रभावित खेलमा श्रीलंकाले ४० ओभरमा २४५ रनको लक्ष्य पाएको थियो। तर उसले ९ विकेटको क्षतिमा १४१ रन मात्र जोड्न सक्यो।
श्रीलंकाका लागि ओपनर धनुश्का गुणतिलकाले सबैभन्दा बढी २४ रन जोडे।
बलिङमा बंगलादेशका मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले ३-३ विकेट लिए।