भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले आइपिएल २०२१ का बाँकी खेल आगामी सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्म युएईमा गर्ने प्रस्ताव गरेको छ।
बिसिसिआईले अन्य देशको क्रिकेट क्यालेन्डरसँग नजुधाउन प्रयत्न गर्दै सेप्टेम्बरमा आइपिएलका बाँकी खेल गर्ने प्रस्ताव गरेको हो।
त्यसअघि क्यारेबियन प्रिमियर लिग (सिपिएल) आयोजना हुँदैछ। सिपिएल अगस्ट २८ देखि १९ सेप्टेम्बरसम्म हुँदैछ।
बिसिसिआईले आइपिएलका खेल कम्तिमा सिपिएलसँग जुधाउन चाहेको छैन।
प्रस्तावित नयाँ मितिमा आइपिएल भएमा विश्वकपको एक साताअघि मात्र सकिनेछ। विश्वकप अक्टोबर तेस्रो सातादेखि भारतमा हुने तय छ।
प्रस्तावित नयाँ मितिको विषयमा आइपिएल टिमलाई जानकारी गराइसकिएको छ।
आइपिएलका बाँकी ३१ खेल २५ दिनको अवधिमा सक्ने बताइएको छ।
यसअघि भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको तथा टिमका खेलाडीलाई पनि कोरोना देखिएपछि गत महिना आइपिएल बीचैमा स्थगित गरिएको थियो।