दुई वटा फ्रेञ्चाइज क्रिकेट खेल्नका लागि बेलायत जाने तयारीमा रहेका नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले भिसा पाउन कठिनाइ भएको बताएका छन्।
सन्दीप इंल्यान्डको 'भाइटालिटी टी-२० ब्लास्ट' र 'द हन्ड्रेड' खेल्नका लागि यहि साता त्यसतर्फ उड्नु पर्ने भए पनि अझै भिसा आइपुगेको छैन।
सन्दीपले भाइटालिटी टी-२० ब्लास्टमा वर्सेस्टसायर र्यापिडबाट खेल्दैछन्। टी-२० ब्लास्ट जुन ९ बाट सुरु हुँदैछ।
टी-२० ब्लास्टको ब्रेकमा हुने 'द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध छन् । ‘द हन्ड्रेड’ जुलाई २२ देखि देखि अगस्ट २१ सम्म हुने तय छ।
बेलायतले नेपाललाई रेड जोनमा राखेका कारणले सन्दीप तेस्रो मुलुकमा दुई साता बिताएर बेलायता जानु पर्नेछ। तर भिसाका कारण आफू समस्यामा परेको सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले भिएफएस ग्लोबलमार्फत बेलायतको भिसाका लागि एक महिनाअघि आवेदन दिएका थिए। तर कुनै जानकारी प्राप्त गर्न नसकेको सन्दीपको भनाइ छ।
'टी-२० ब्लास्ट र द हन्ड्रेडमा भाग लिन मैले युके भिसाका लागि आवेदन दिएको एक महिना भन्दा बढी भयो। मेरो उडानको दिन नजिकै आउँदैछ र अपडेटका लागि प्रत्येक पटक भिएफएसको अफिसमा फोन गर्दा कहिले पनि स्पष्ट जवाफ पाउँदिन,' सन्दीपले ट्विटरमा नेपालस्थित बेलायती दूतावास, नेपालको प्रधानमन्त्री कार्यायल र परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीलाई मेन्सन गर्दै लेखेका छन्।
'मलाई थाहा छ यो कठिन समय हो। हामी खेलाडीहरूले संसारलाई यस कठिन समयमा मनोरञ्जन दिनको लागि आफ्नो काम गरिरहेका छौ। यस विषयमा कुनै सहयोग पाएमा आभारी हुने थिएँ।'