भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले आइपिएल २०२१ का बाँकी खेल आगामी सेप्टेम्बर-अक्टोबरमा युएईमा गर्ने निर्णय गरेको छ।
बिसिसिआईले अन्य देशको क्रिकेट क्यालेन्डरसँग नजुधाउन प्रयत्न गर्दै सेप्टेम्बरदेखि आइपिएलका बाँकी खेल गर्ने निर्णय गरेको हो।
त्यसअघि क्यारेबियन प्रिमियर लिग (सिपिएल) आयोजना हुँदैछ। सिपिएल अगस्ट २८ देखि १९ सेप्टेम्बरसम्म हुँदैछ।
बिसिसिआईले आइपिएलका खेल कम्तिमा सिपिएलसँग जुधाउन चाहेको छैन।
सेप्टेम्बर-अक्टोबरमा आइपिएल भएमा टी-२० विश्वकपको केही अघि मात्र सकिनेछ। विश्वकप अक्टोबर तेस्रो सातादेखि भारतमा हुने तय छ।
आइपिएलका बाँकी ३१ खेल २५ दिनको अवधिमा सक्ने बताइएको छ।
यसअघि भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको तथा टिमका खेलाडीलाई पनि कोरोना देखिएपछि गत महिना आइपिएल बीचैमा स्थगित गरिएको थियो।