आगामी महिना स्पेनमा हुने स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो।
घरेलु प्रधानमन्त्री कप र मेयर कपमा राम्रो प्रदर्शन गरेका पृथु बाँस्कोटा, पवन सर्राफ, वक्रम सोब, सन्दिप जोरा, शाहव आलमले टिममा स्थान बनाएका छन्।
नेदरल्याण्ड्स र मलेसियाविरुद्ध घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा उत्कृस्ट प्रदर्शन गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पनि टिममा रहेका छन्।
हाल अमेरिकामा रहेका बसन्त रेग्मीलाई यसपटक पनि टिममा छैनन्।
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरू
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ र पृथु बास्कोटा ।
विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुँदैछ।
यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज हुन लागेको हो।
यसअघि स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने विषयमा छलफल भएको थियो।
सिरिज आगामी जुलाई तेस्रो सातादेखि गर्ने प्रस्ताव गरिएको छ।
सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुनेछ। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो।
कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो।
प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ। २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए।
सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो।
लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।