राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गरिएकोमा ५ सयभन्दा बढि सहभागी भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले गत जेठ ३१ गते डिजाइनका लागि प्रतिस्पर्धा खुला गरेको थियो।
क्यानका अनुसार प्राप्त डिजाइनको अब सर्टलिस्ट गरिनेछ। छनोट समितिले सर्टलिस्ट गर्ने क्यानको भनाइ छ।
चार सदस्यीय छनोट समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जिएम रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र प्रयोजकका एक प्रतिनिधि हुनेछन्।
समितिले डिजाइनको सर्टलिस्ट गरेर बोर्डलाई दिनेछ। बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ।
उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसअघि क्यानले डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न भनेको थियो। जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने क्यानको भनाइ छ।
डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने क्यानले जनाएको थियो।
नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ।