आगामी महिना स्पेनमा हुने स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बोलाइएको बन्द प्रशिक्षणमा पृथु बाँस्कोटा सहभागी नहुने भएका छन्।
हाल अमेरिकामा रहेका पृथुले आफू व्यक्तिगत कारणले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराएका छन्।
दुई महिनाअघि पृथु र स्पिनर बसन्त रेग्मी अमेरिकामा रहेका नेपालीले आयोजना गरेको क्रिकेट प्रतियोगिता खेल्न अमेरिका गएका थिए।
यसअघि क्यानले पृथुसहित २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीको सोमबार कोरोना भाइरसको पिसिआर टेस्ट गरिएको छ।
नेपाली टिमको प्रशिक्षण भोलि बुधबारबाट सुरु हुनेछ।
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरू
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ र पृथु बास्कोटा।
विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुँदैछ।
यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज हुन लागेको हो।
यसअघि स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने विषयमा छलफल भएको थियो।
सिरिज आगामी जुलाई तेस्रो सातादेखि गर्ने प्रस्ताव गरिएको छ।
सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुनेछ। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो।
कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो।
प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ। २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए।
सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो।
लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।