आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज साउन ५ देखि सुरू हुने भएको छ।
क्रिक बजका अनुसार सिरिज साउन ५ बाट सुरु भएर साउन १५ मा सकिनेछ। सिरिजमा तीनै टिमले एकआपसमा दुई पटक खेल्नेछन्।
सिरिजका लागि नेपाली टिमले बुधबारदेखि प्रशिक्षण सुरु गर्दैछ।
यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज हुन लागेको हो।
यसअघि स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने विषयमा छलफल भएको थियो।
सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुनेछ। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो। त्यसैले नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्पेनमा हुने पहिलो एकदिवसीय खेल हुनेछ।
कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो।
प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ। २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए।
सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो।
लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।