आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमले अभ्यास सुरु गरेको छ।
नेपाली टिमले मंगलबारदेखि अभ्यास सुरु गरेको हो। अभ्यासअघि नेपाली टिमको सोमबार पिसिआर टेस्ट भएको थियो। जसमा सहभागी १९ खेलाडीको रिपोर्ट नेगेटिभ आएको थियो।
प्रशिक्षणका लागि २० खेलाडी बोलाइए पनि पृथु बाँस्कोटाले व्यक्तिगत कारण नाम फिर्ता लिएका थिए।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ
विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज साउन ५ देखि सुरू हुनेछ।
सिरिज साउन ५ बाट सुरु भएर साउन १५ मा सकिनेछ। सिरिजमा तीनै टिमले एकआपसमा दुई पटक खेल्नेछन्।
यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज हुन लागेको हो।
यसअघि स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने विषयमा छलफल भएको थियो।
सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुनेछ। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो। त्यसैले नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्पेनमा हुने पहिलो एकदिवसीय खेल हुनेछ।
कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो।
प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ। २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए।
सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो।
लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।