मुल्तान सुल्तानले पाकिस्तान सुपर लिग (पीएसएल) छैठौं संस्करणको उपाधि जितेको छ । गएराति युएईमा सम्पन्न फाइनलमा पेशावर जल्मीलाई ४७ रनले हराउँदै मुल्तानले पीएसएलको उपाधि जितेको हो ।
मुल्तानले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको पेशावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।
उसका लागि सोयब मलिकले ४८, कमरन अकमलले ३६, रोभम्यान पावेलले २३ र शेरफन रदरफोर्डले १८ रन बनाए ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा इमरान ताहिरले तीन, ब्लेसिङ मुजारबानी, इमरान खानले दुई/दुई र सोहेल तनवीरले एक विकेट लिए ।
यसअघि, यूएईको आबुधाबीस्थित शेख जायद रंगशालामामा टस हारेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
उसका लागि शान मसुद र मोहम्मद रिजवानले ६८ रनको ओपनिङ साझेदारी गरे । मसुद ३७ र कप्तान रिजवान ३० रनमा आउट भए ।
त्यसपछि सोहेब मक्सूद र राइलो रोस्सोले आक्रामक ब्याटिङ गर्दै ९८ रनको उत्कृष्ट साझेदारी गरे।
मक्सूदले ३५ बलमा अविजित ६५ र रोस्सोले २१ बलमा ५० रन बनाए । खुशदील साह १५ रनमा अविजित रहे ।
बलिङमा पेशावरका समीन गुल र मोहम्मद इमरान दुई/दुई विकेट लिए ।
यसअघि पहिलो क्वालिफायरमा मुल्तानले इश्लामावाद युनाइटेडलाई ३१ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
पेशावरले दोस्रो इलिमीनेटरमा इश्लामावादलाई नै पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भएको थियो ।
सन् २०१७ को पीएसएल ट्रफी हात पारेको पेशावर यो सँगै लगातार दोस्रो पटक उपाधि जित्नबाट चुक्यो।