भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले यो वर्ष हुने टी-२० विश्वकप भारतबाट युएईमा सार्ने पुष्टि गरेको छ।
बिसिसिआईका सचिव जय शाहले भारतबाट युएईमा विश्वकप सार्ने निर्णय भएको बताए। अब उनले यो निर्णय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई जानकारी दिने बताए।
'हामीले युएईमा विश्वकप सार्ने निर्णय गरेको छौं। हामी अब आइसिसीले सोमबार साँझ जानकारी गराउँछौ,' शाहले भने।
पहिलो राउन्डको खेल ओमानमा गर्ने विषयमा पनि सकारात्मक रहेको शाहको भनाइ छ।
यसअघि आइसिसीले टी-२० विश्वकप कोरोना भाइरसका कारण भारतबाट युएईमा सार्ने विषयमा छलफल गरेको थियो।
आइसिसीले भारतमा विश्वकप गर्नुका सट्टा युएईमा गर्दा सुरक्षित हुने सुझाव दिएको थियो।
टी-२० विश्वकप आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुने तय छ। यसअघि भारतमा हुने भनिएको विश्वकप कोरोना भाइरसका कारण अनिश्चित बनेको थियो।
यसअघि गत वर्ष अस्ट्रेलियामा तय भएको टी-२० विश्वकप पनि कोरोनाका कारण स्थगित भएको थियो। जुन विश्वकप भारतलाई आयोजना गर्न दिने निर्णय भएको थियो।
अस्ट्रेलियाले भने सन् २०२२ को टी-२० विश्वकप आयोजना गर्दैछ।