अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२४ देखि २०३१ सम्म गर्ने पक्का गरेको आइसिसी इभेन्ट्स आयोजना गर्न १७ देशले प्रस्ताव पेश गरेका छन्। जसमा ६ वटा आइसिसीका एसोसिएट सदस्य राष्ट्र पनि छन्।
आइसिसीका अनुसार यो अवधिमा हुने आठ प्रतियोगिता आयोजनाका लागि १७ देशले प्रस्ताव पेश गरेका हुन्।
सन् २०२४ देखि २०३१ सम्ममा दुई वटा एकदिवसीय विश्वकप, चार संस्करणको टी-२० विश्वकप र दुई संस्करणको च्याम्पियन्स ट्रफी हुने तय छ।
यी बाहेक महिला, यु१९ प्रतिस्पर्धा र टेस्ट च्याम्पियनसिपको फाइनलको आयोजक छान्ने भन्ने अर्कै प्रक्रिया अपनाइनेछ।
एकदिवसीय र टी-२० विश्वकप लागि आइसिसीले प्रारम्भिक प्राविधिक प्रस्ताव पेश गर्न आफ्ना सदस्य राष्ट्रलाई आह्वान गरेको थियो। जसमा एकल र संयुक्त आयोजनाको प्रस्ताव आएको आइसिसीको भनाइ छ।
पहिलो चरणमा अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, मलेसिया, नामिबिया, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, युएई, अमेरिका र जिम्बावेले प्रस्ताव पेश गरेका छन्।
प्रारम्भिक प्रस्ताव पेश गरेका देशलाई अब बिस्तृत विवरण पेश गर्न भनिनेछ। आयोजकको टुंगो सन् २०२१ को अन्त्यसम्ममा लाग्नेछ।
अघिल्लो महिना आइसिसीको बोर्ड बैठकले एकदिवसीय विश्वकप र टी-२० विश्वकपमा सहभागी संख्या बढाउने र च्याम्पियन्स ट्रफी फेरि सुचारू गर्ने निर्णय गरको थियो।
सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकपमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ।
सन् २०२४, २०२६, २०२८ र २०३० को टी-२० विश्वकपमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ।
८ टिमबीच हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ।
एकदिवसीय विश्वकपमा ७-७ टिम गरी दुई समूहमा खेलाइनेछ। शीर्ष ३-३ टिम गरी ६ टिमबीच सुपर सिक्स हुनेछ। त्यसपछि सेमिफाइन र फाइनल हुनेछ।
टी-२० विश्वकपमा ५-५ टिम सम्मिलित ४ समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक समूहमा शीर्ष २-२ टिम गरी ८ टिम सुपर-८ मा पुग्नेछन्। त्यसपछि सेमिफाइनल र फाइनल हुनेछ।
च्याम्पियन्स ट्रफी ४-४ टिम सम्मिलित २ समूहमा प्रतिस्पर्धा हुनेछ। शीर्ष २-२ टिम सेमिफाइन पुग्नेछन्।