अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिज वेस्ट इन्डिजले दुई खेल अगावै जितेको छ।
मंगलबार विहान सकिएको तेस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टिम वेस्ट इन्डिजले सिरिजमा ३-० को अग्रता बनाएको हो।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १४१ रन जोड्यो। अस्ट्रेलियाका लागि मोइसेस हेनरिक्सले ३३ रन र कप्तान आरोन फिञ्चले ३० रन मात्र जोड्न सके।
बलिङमा वेस्ट इन्डिजका हेडन वाल्सले २ विकेट लिए।
१४२ रनको लक्ष्य वेस्ट इन्डिजले १४.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
वेस्ट इन्डिजको जितमा क्रिस गेलले ६७ रन जोडे। उनले ३८ बलमा ४ चौका र ७ छक्का हिर्काए। गेल खेलको प्लेयर अफ दि म्याच भए।
कप्तान निकोलास पूरानले नटआउट ३२ रन जोडे भने लेन्ड सिमोन्सले १५ रन बटुले।
बलिङमा अस्ट्रेलियाका रिले मेरिडिथले ३ विकेट लिन सफल भए।