वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले टी-२० क्रिकेटमा १४ हजार रन पूरा गरेका छन्।
मंगलबार विहान अस्ट्रेलियाविरुद्धको तेस्रो टी-२० खेलमा ३८ बलमा ६७ रन बनाएसँगै गेलले १४ हजार रन पूरा गरेका हुन्। गेलले वेस्ट इन्डिजको जर्सीमा बनाएको यो १४औं टी-२० अर्धशतक हो।
गेलको उत्कृष्ट ब्याटिङमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ६ विकेटले हराउँदै पाँच खेलको सिरिज दुई खेल अवागै जित्यो।
सन् २००५ देखि २०२१ को अवधिमा गेलले ४३१ खेलमा ४२३ पटक ब्याटिङ गर्दै १४ हजार रन पूरा गरेका हुन्।
उनले टी-२० मा २२ शतक बनाउँदा ८७ अर्धशतक प्रहार गरेका छन्। गोल टी-२० मा सर्वाधिक रन, सर्वाधिक शतक र सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन्।
गेलले वेस्ट इन्डिजसँगै विश्वका दर्जन बढि फ्रेञ्चाइज टिमबाट टी-२० खेलेका छन्।
टी-२० मा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका केइरन पोलार्डले १० हजार ८ सय ३६ रन बनाएका छन्।
तेस्रो स्थानका पाकिस्तानका सोएब मलिकले १० हजार ७ सय ४१ र चौथो स्थानका अस्ट्रेलियाका डेभिड वार्नरले १० हजार १७ रन बनाएका छन्।
भारतका कप्तान विराट कोहली ९ हजार ९ सय २२ रन बनाएर पाँचौ स्थानमा छन्।