वेस्ट इन्डिजविरुद्धको चौथो टी-२० खेलमा अस्ट्रेलियाले ४ रनको रोमाञ्चक जित हात पारेको छ।
बुधबार राति सकिएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १८९ रन जोड्यो।
अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ५३ रन र मिचेल मार्सले ७५ रनको योगदान गरे। बलिङमा वेस्ट इन्डिजका हेडेन वाल्सले ३ विकेट लिए।
१९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेटको क्षतिमा १८५ रन मात्र जोड्न सक्यो।
वेस्ट इन्डिजका लागि लेन्ड सिमोन्सले ७२ रन जोडे भने आन्द्रे रसेलले नटआउट २४ रन बटुले। फाबियन एलेन २९ रन जोडेर आउट भए।
वेस्ट इन्डिजलाई अन्तिम २ ओभरमा ३६ रन चाहिएको थियो। जसमा १९ ओभरमा वेस्ट इन्डिजका एलेन र रसेलले उत्कृष्ट ब्याटिङ गर्दा २५ रन जोडे। अन्तिम बलमा भने एलेन आउट भएका थिए।
अन्तिम ओभरमा ११ रन चाहिए पनि पहिलो पाँच बलमा वेस्ट इन्डिजले कुनै रन जोड्न सकेनन्। मिचेल स्टार्कको बलमा रसेलले रन बटुल्न सकेनन्। अन्तिम बलमा छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन।
यसअघि सुरुवाती तीन खेलमा जित हात पार्दै घरेलु टिम वेस्ट इन्डिजले पाँच खेलको सिरिज आफ्नो पक्षमा पारिसकेको छ।