नेपाल क्रिकेट संघ (क्यान) ले तत्कालको लागि कुनै पनि विदेशी लिगको लागि अनुमति नदिएको बताएको छ।
भारतको मराठा क्रिकेट लिग नेपालमा आयोजना हुने भन्ने सामाजिक सञ्जालमा सार्वजनिक भएपछि क्यानले सो लिगलाई संकेत गर्दै अनुमति नभएको बताएको हो।
आफ्नो अनुमतिबिना कुनै पनि क्रिकेट प्रतियोगिता नेपालमा सञ्चालन गर्न नमिल्ने क्यानको भनाइ छ।
'विगत केही दिनयता केही अनलाइन न्युज पोर्टल, सामाजिक सञ्जालहरूमा व्याप्त नेपालमा विदेशी लिग सञ्चालन गरिँदै भन्ने खालको समाचारप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,' क्यानका सचिव अशोकनाथ प्याकुरेलले निकालेको विज्ञप्तिमा भनिएको छ।
'संघले तत्कालको लागि कुनै पनि विदेशी लिगको लागि अप्रुभल (स्याङ्क्सनड) नदिएको जानकारी गराउन चाहन्छौ, संघबाट डिसअप्रुभड क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्न नमिल्ने ब्यहोरा जनाउन चाहन्छौ।'
क्यानले क्यानको स्वीकृति नदिएको प्रतियोगितामा सहभागी नहुन पदाधिकारी, खेलाडीलाई र अफिसियललाई अनुरोध गरेको छ।
'संघको स्वीकृति नलिएर नेपाल अधिराज्यभर आयोजना गरिने कुनै पनि क्रिकेट प्रतियोगिताहरूमा संघ मातहतका प्रदेश एवं जिल्ला क्रिकेट संघहरु, खेलाडीहरू, पदाधिकारीहरू, प्राविधिक अफिसियलहरु र अन्य क्रिकेट सम्बद्ध व्यक्तिहरू वा संस्थाहरूलाई संलग्नता नजनाउन यसै सूचना मार्फत संघ हार्दिक अनुरोध गर्दछ,' क्यानको भनाइ छ।
यसअघि मराठा लिग पोखरामा आगामी अगस्टमा आयोजना हुने बताइएको थियो।