अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० विश्वकप २०२१ को समूह विभाजन गरेको छ।
आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने विश्वकपका लागि शुक्रबार समूह विभाजन गरिएको हो।
समूह विभाजन २० मार्च २०२१ सम्मको टी-२० वरीयताको आधारमा गरिएको हो।
सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्।
जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्। सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।
पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।
सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन्।
समूह-१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।
प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।
प्रतियोगिताको खेल तालिकामा पछि प्रकाशन गरिने आइसिसीले जनाएको छ।
पहिलो चरण
समूह ए : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह बी : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान
सुपर-१२
समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता, समूह बी उपविजेता
समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता