आयरल्याण्डका अलराउन्डर सिमी सिंहले विश्व कीर्तिमान बनाएका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिका विरूद्ध शुक्रबार आठौं नम्बरमा ब्याटिङ गर्दै उनले शतक बनाएर विश्व कीर्तिमान कायम गरेका हुन्। यसअघि वानडे क्रिकेटमा कुनै पनि ब्याट्सम्यानले आठौं नम्बरमा आएर ब्याटिङ गर्दै शतक बनाएका थिएनन् ।
यसअघि आठौँ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ठूलो पारी खेल्ने कीर्तिमान इंग्ल्याण्डका क्रिस वोक्स र साम करनको नाममा थियो ।
वोक्सले सन् २०१६ मा श्रीलंकाविरुद्ध र करनले यही वर्षको मार्चमा भारतसँगको खेलमा अविजित ९५ रन बनाएका थिए। उनीहरूको कीर्तिमान सिमीले तोडेका छन्। उनले ९१ बलमा १४ चौकासहित अविजित १ सय रन बनाउँदै कीर्तिमान बनाएका हुन्।
यद्यपी दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा आयरल्याण्ड ७० रनले पराजित भएको छ ।
दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ७६ रन मात्र बनाउन सक्यो ।
उसका लागि सिमीको शतकबाहेक कर्टिस क्याम्परले ५४, ह्यारी टेक्टरले २९, जर्ज डकरेल, मार्क आदिरले १५/१५ र पउल स्टर्लिङले ११ रन बनाए।
बलिङमा तरबीज शम्सी र एन्डिले फेहलक्वायोले सर्वाधिक तीन/तीन विकेट हात पारे।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनायो ।
उसका लागि जान्नेमान मलान र क्विन्टन डिककले शतकीय पारी खेले। मलानले १६९ बलमा १६ चौका र ६ छक्कासहित अविजित १७६ रन बनाए। त्यस्तै, डिककले ९१ बलमा पाँच छक्का र ११ चौकासहित १२० रन बनाए। उनीहरूले पहिले विकेटका लागि २२५ रनको साझेदारी गरेका थिए।
त्यस्तै, रस्सीवानदर दुसेन ३०, हेनरिक क्लोसन तीन, एन्डिले फेहलक्वायो ६ रनमा आउट हुँदा कप्तान तेम्बा बवुमा तीन रनमा अविजित रहे ।
बलिङमा जोश लिटलले दुई, सिमी सिंह र क्रेग योङले एक/एक विकेट लिए। तीन खेलको सिरिज १-१ को बराबरीमा घरेलु टोली आयरल्याण्डले १-० को अग्रता बनाएको छ ।
यो जितसँगै तीन खेलको सिरिज दक्षिण अफ्रिकाले १-१ को बराबरीमा सकेको छ। सिरिजको दोस्रो आयरल्याण्ड ४३ रनले विजयी भएको थियो भने पहिलो खेल रद्द भएको थियो।
अब यी दुई टोलीबीच ३ खेलको टी ट्वान्टी सिरिज हुनेछ। पहिलो खेल भने वर्षाका कारण रद्द गरिएको थियो ।