घरेलु टिम श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा भारतले विजयी सुरूवात गरेको छ। आइतबार कोलम्बोमा भएको खेलमा भारतले श्रीलंकलाई ७ विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको २६३ रनको लक्ष्य भारतले ३ विकेटको क्षतिमा ३६.४ ओभरमा पूरा गर्यो। भारतका लागि कप्तान शिखर धवनले नटआउट ८६ रन जोडे। उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
युवा खेलाडीलाई समेट्दै श्रीलंका पठाएको भारतका लागि ओपनर पृथ्वी शाले ४३ रन र विकेटकिपर इशान किसनले ५९ रनको योगदान गरे।
मनिष पाण्डे २६ रनमा आउट हुँदा सूर्यकुमार यादवले ३१ रनको योगदान दिए। इशान र सूर्यकुमारले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।
बलिङमा श्रीलंकाका धनन्जय डि सिल्भाले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा २६२ रन जोड्यो। कप्तान डसुन शनकाले ३९ रन जोडे भने चरिथ असलंकाले ३८ रनको योगदान गरे। ओपनर अभिस्का फर्नान्डोले ३३ रन जोड्दा मिनोद भनुकाले २७ रन बटुले।
बलिङमा भारतका दीपक चाहर, युजभेन्द्र चाहल र कुलदिप यादवले २-२ विकेट लिए। हार्दिक पाण्ड्या र क्रुनाल पाण्ड्याले १-१ विकेट हात पारे।
दोस्रो एकदिवसीय खेल मंगलबार कोलम्बोमा हुनेछ।