एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताका संस्थापक तथा जोरा इन्टरनेसनलका कार्यकारी निर्देशक आमिर अख्तरले बुधबार नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल लेख्दै बोर्ड सदस्य र राष्ट्रिय क्रिकेटरको स्वार्थ बाझिएको गम्भीर आरोप लगाए।
क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसँगै राष्ट्रिय क्रिकेटरले 'व्यापारको एउटै मञ्च सेयर' गरेको आरोप लगाउँदै अख्तरले क्यानलाई इमेल लेखेका थिए।
भोलिपल्ट बिहीबार बोर्ड सदस्य लामासहित कप्तान ज्ञानेन्द्र र पूर्वकप्तान पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन्।
यसअघि मंगलबार 'बलियो नेपाल' अभियानले सामाजिक सञ्जाल क्लब हाउसमा 'के नेपाल सन् २०३९ सम्ममा क्रिकेट विश्व विजेता बन्न सक्छ?' विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो।
सो छलफलमा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, पूर्वक्रिकेटर शक्ति गौचन, महिला टिमकी कप्तान रूबिना क्षेत्री र क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले भाग लिने ब्यानर सार्वजनिक भएको थियो।
बुधबार दिउँसो ४:५४ बजे अख्तरले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह, क्रिकेट म्यानेजर विनोद दास र जनरल म्यानेजर रौनक विक्रम मल्ललाई इमेल पठाएका थिए।
'क्यानका बोर्ड सदस्य छुम्बी लामाको साथसाथ वर्तमान क्रिकेटरहरूले व्यापारको एउटै मञ्च सेयर गरेका छन्,' अख्तरले लेखेको इमेलमा भनिएको छ, 'के क्यानले खेलाडी र बोर्ड सदस्यबीचको व्यवसायको यस्तो प्रत्यक्ष सन्बन्धलाई अनुमति दिन्छ?'
तर लामा तथा क्रिकेटरले छलफल कार्यक्रमको विषयलाई लिएर प्रश्न गर्नु निन्दनीय भएको बताएका छन्।
'बलियो नेपाल एक गैरनाफामूलक संस्थाले सामाजिक सञ्जाल क्लब हाउसमा आयोजना गरेको क्रिकेट छलफल कार्यक्रममा सहभागी भएको विषयलाई आधार बनाएर हामी खेलाडी र नेपाल क्रिकेट संघका बोर्ड सदस्यमाथि सोधिएको प्रश्न निन्दनीय छ,' विज्ञप्तिमा भनिएको छ।
साथै खेलाडीको चरित्रमाथि समेत प्रश्न गर्नु राम्रो काम नभएको उनीहरूको भनाइ छ।
'नेपालको लागि दुई दशक लामो समयदेखि क्रिकेट खेल्दै र टोलीको कप्तानी गर्दै आएका खेलाडीको चरित्रमाथि नै प्रश्न सोधिनु आफैँमा निच कार्य रहेको हाम्रो बुझाइ छ। प्रकाशित सो समाचारले खेलाडीहरू शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल र रुबिना क्षेत्रीको चरित्रमा दाग लगाउने काम गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
'तथ्यहिन कुरालाई लिएर व्यक्तिगत मानहानी गर्ने र खेलाडीको इज्जत-प्रतिष्ठामा नै आँच पुर्याउने कार्यप्रति हामी खेद प्रकट गर्दछौं।'
यता अख्तरले नेपाली क्रिकेटलाई स्वच्छ राख्न चुनाव जितेका अध्यक्ष र सचिवसँग आफूले कुराकानी गरेको पनि इमेलमा लेखेका छन्। उनले लेखेका छन्,'क्रिकेटमा यस्ता नैतिक विषयमा प्रश्न उठाउनु उचित हुन्छ। अन्यथा यसले भ्रष्टाचारलाई बढावा दिन्छ।'
उनले ४८ घन्टाभित्र आफूले जवाफ चाहेको पनि उल्लेख गरेका छन्। यदि जवाफ नआएमा उक्त इमेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पठाउने चेतावनी दिएका छन्।
अख्तरले निश्चित समय तोकेर जवाफ खोज्नु पनि अनुचित भएको बोर्ड सदस्य तथा क्रिकेटरको तर्क छ।
'नेपाल क्रिकेट संघ जस्तो स्वतन्त्र संस्थालाई कोही एक व्यक्तिले सीमित समयको अल्टिमेटम दिनु कहाँसम्म को जायज कदम हो भन्ने हाम्रो प्रश्न समेत रहेको छ,' विज्ञप्तिमा भनिएको छ।
अख्तरले पठाएको इमेल :-
क्यान बोर्ड सदस्य र क्रिकेटरको संयुक्त विज्ञप्ती :-