पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी क्रिकेट खेल्न नेपाल आउने भएका छन्।
४१ वर्षीय अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आउने भएका हुन्। उनी इपिएल टिम काठमाडौं किंग्स-११ मा आबद्ध भएका हुन्।
उनलाई टिममा आइकोनिय खेलाडीको रूपमा भित्र्याएको काठमाडौंले सोमबार सार्वजनिक गरेको हो।
अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टी-२० ल खेलेका छन्। टेस्टमा ५ शतक हिर्काएका उनले एकदिवसीय खेलमा ६ शतक बनाएका छन्। उनले एकदिवसीय खेलमा ८ हजार रन बनाएका छन्।
पछिल्लो पटक उनले २०२१ को पाकिस्तान सुपर लिग खेलेका थिए। उनी सुपर लिगमा मुल्तान सुल्तानमा आबद्ध थिए।
यसअघि काठमाडौंले नेपालका लेगस्पिनर सन्दीप लामिछानेसँग पनि सम्झौता गरेको थियो। यस्तै टिममा दीपेन्द्रसिंह ऐरी र सुवास खकुरेल पनि छन्।
इपिएल आगामी असोजमा हुने बताइएको छ। असोज ९ देखि २३ सम्म संचालन गर्न नेपाल क्रिकेट संघ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अनुमति दिएको आयोजकको भनाइ छ।
गत सिजनको इपिएल अन्तिम समयमा स्थगित गरिएको थियो। कोरोना भाइरसका कारण आयोजकले २०७६ चैतमा तय भएको इपिएल स्थगित गर्न बाध्य भएको थियो।
गत सिजन क्रिस गेल लगायतका स्टार क्रिकेटरले इपिएल खेल्ने तय भएको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुँदै आएको छ।
जसमा काठमाडौंसँगै ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स छन्।