भारतविरुद्धको तीन खेलको टी-२० सिरिज घरेलु टिम श्रीलंकाले जितेको छ। श्रीलंकले सन् २०१९ पछि जितेको यो पहिलो टी-२० सिरिज हो। यस्तै श्रीलंकाले भारतलाई टी-२० सिरिजमा हराएको यो पहिलो पटक हो।
बिहीबार राति कोलम्बोमा भएको तेस्रो तथा निर्णायक खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज २-१ ले जितेको हो।
कोरोनाका कारण पहिलो रोजाइका खेलाडीहरु आइसोलेसनमा बसेकाले भारतीय टिमले दोस्रो रोजाइका खेलाडीहरूलाई मैदान उतारेको थियो। जसमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ८१ रन मात्र जोड्न सक्यो।
उसका लागि भुवनेश्वर कुमारले १६ रन र कुलदीप यादवले नटआउट २३ रन जोडे। अन्य सात ब्याट्सम्यनले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा श्रीलंकाका विनन्दु हर्षरंगाले ४ विकेट लिए भने डसुन सनकाले २ विकेट लिन सफल भए।
८२ रनको सामान्य लक्ष्य श्रीलंकाले १४.३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो।
श्रीलंकाका लागि धनन्जय डि सिल्भाले नटआउट २३ रन जोडे भने अभिस्का फर्नान्डोले १२ रन र मिनोद भनुस्काले १८ रनको योगदान दिए।
हर्षरंगाले नटआउट १४ रन बटुल्न सफल भए। बलिङमा भारतका राहुल चाहरले ३ विकेट हात पारे।