नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अवसर आए राजनीतिमा आउने बताएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका पारसलाई पत्रकारहरूले राजनीतिमा आउनेबारे जिज्ञासा राखेका थिए।
जवाफमा पारसले अवसर आए पछि नहट्ने बताए।
'अवसर आउँछ भने म पछि हट्दिनँ', पारसले भने, 'सही अवसर आए म त्यसबारे सोच्नेछु। मेरो सहभागिताले कस्तो असर पार्न सक्छ भन्ने हिसाबले मैले जहिल्यै आफूलाई तुलना गरेको छु। यदि म कुनै पार्टीसँग जोडिएर नेपाललाई कुनै न कुनै तरिकाले 'भ्यालु एड' गर्न सकेँ भने म तयार हुनेछु।'
पारसले तत्कालका लागि भने आफूले क्रिकेटको व्यवस्थापनमा आउन चाहेको खुलाए।
राजनीतिमा आउनुअघि क्रिकेट व्यवस्थापनलाई कुनै ठाउँमा पुर्याउन चाहेको उनले बताए।
'अन्तर्राष्ट्रिय खेल जीवन सकिएपछि व्यवस्थापनमा आऊँला वा पदाधिकारीमा आऊँला, कोषाध्यक्ष होऊँला वा अध्यक्ष होऊँला। तर ममात्र भएर हुन्न अहिलेको स्टक होल्डरहरूले पनि उत्तिकै जिम्मेवारी लिनुपर्नेछ', पारसले भने, 'त्यो बाटो कठिन पनि छ। सजिलो पनि छ।'
उनले एउटा खेलाडीका कारणले क्रिकेटमा परिवर्तनमा ल्याउन सम्भव भए पनि व्यवस्थापनमा त्यस्तो ग्यारेन्टी नभएको बताए।
'एकसेएक राम्रो खेलाडी क्याप्टेन बन्न सकेका छैनन्। राम्रो क्याप्टेन, राम्रो प्रशिक्षक बन्न सकेका छैनन्। खेलाडीहरू व्यवस्थापक बन्न सकेका छैनन्। क्रिकेट बाहेकको जुन पोलिटिकल लाइन छ। सही अवसर आए म त्यसबारे सोच्नेछु', पारसले भने।