पाहुना टोली अस्ट्रेलियालाई लगातार दोस्रो खेलमा हराउँदै बंगलादेशले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा २-० को अग्रता लिएको छ।
शेरे बांग्ला नेसनल स्टेडियम, ढाकामा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १२२ रनको लक्ष्य बंगलादेशले ८ बल बाँकी रहँदै ५ विकेट गुमाएर भेटायो।
बंगलादेशका लागि ओपनर ओपनर मोहम्मद नईम र सौम्य सरकार छिट्टै आउट भए पनि तेस्रो विकेटको लागि शाकिब अल हसनले मेहदी हसनसंग ३७ रनको साझेदारी गरे। १७ बलमा ४ चौका मद्दतले शाकिबले २६ रन बनाए। यस्तै कप्तान महमुदुल्लाह खाता नखोली एस्टन एगरबाट बोल्ड हुँदा २३ रन बनाएका मेहदी हसन पनि एडम जाम्पाबाट स्टम्प आउट भए।
६७ रनमा ५ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा ब्याटिङ गरेका अफिफ होसेनले सातौं नम्बरका नुरूल हसनसँग अर्धशतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए।
दुवैले ४४ बलमा अविजित ५६ रन जोडे। अफिफले ३७ रन बनाउने क्रममा ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दा हसनले २१ बलमा ३ चौका मद्दतले २२ रन बनाए।
अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क, जोश हेजलवुड, एस्टन एगर, एडम जाम्पा र एन्ड्रयु टाईले समान १ विकेट लिए पनि हार टार्न सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन मात्र बनाएको थियो।
उसको लागि मिचेल मार्शले सर्वाधिक ४५ रन, मोईसेस हेनरिक्सले ३० रन तथा मिचेल स्टार्कले अविजित १३ रन योगदान दिए। मार्श र हेनरिक्सले तेस्रो विकेटको लागि ५७ रनको साझेदारी गर्दै मध्यम स्कोरसम्म टिमलाई पुर्याए।
एक समय १६ ओभरमा ९९ रनको योगफलमा ३ विकेट गुमाएको अस्ट्रेलियाले त्यसपछि ४ ओभरमा थप ४ विकेट गुमाएर २२ रन मात्र थप्न सक्यो।
बंगलादेशका लागि मुस्तफीजुर रहमानले ३, शोरीफुल इश्लामले २ विकेट लिए। मेहदी हसन र शाकिब अल हसनले समान १-१ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो जुन अस्ट्रेलिया बिरुद्ध बंगलादेशको इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय जित थियो।
सिरिजको तेस्रो खेल शुक्रबार हुनेछ।