इंग्ल्यान्डले भारतविरूद्ध पहिलो टेस्टको तेस्रो दिन शुक्रबार खेलमा फर्कने प्रयास गरेको छ। पाँच खेलको टेस्ट सिरिज अन्तर्गत ट्रेन्ट ब्रिज स्टेडियम नटिंघममा जारि पहिलो टेस्टको तेस्रो दिनको खेल सकिँदा भारत आफ्नो पहिलो इनिङ्समा २ सय ७८ रन बनाएर अलआउट भयो।
वर्षाका कारण तेस्रो दिन करिब ४९ ओभरको खेल मात्र सम्भव भयो।
टेस्टको पहिलो इनिंग्समा इंग्ल्यान्डले १८३ रन बनाएपछि भारतले पहिलो इनिंग्समा २७८ रन बनाउँदै ९५ रनको अग्रता हाँसिल गरेको थियो। तेस्रो दिन आफ्नो दोस्रो इनिंग्स ब्याटिंङ सुरू गरेको इंग्ल्यान्डले दिनको समाप्तिमा विकेट नगुमाई ११.१ ओभरमा २५ रन बनाएको छ।
दोस्रो इनिंग्समा इंग्ल्यान्ड ७० रनले अझै पछाडि छ। क्रिजमा डोमिनिक सिबले ९ रन तथा रोरी बर्न्स ११ रन बनाएर ब्याटिंग गरिरहेका छन्।
यसअघि १२५/४ को अवस्थाबाट तेस्रो दिनको सुरुवात गरेको भारतले सम्पूर्ण विकेट गुमाउँदा २७८ रन बनाउन सक्यो। उसका लागि ओपनर केएल राहुलले सर्वाधिक ८४ रन तथा रभीन्द्र जडेजाले ५६ रन बनाए। रोहित शर्माले ३६, जस्प्रित बुम्राहले २८, रिशभ पन्तले २५ तथा मोहम्मद शामीले १३ रन योगदान दिए।
१४५ रनमा ५ विकेट गुमाएको अवस्थामा राहुल र जडेजाले ६० रनको साझेदारी गर्दै भारतलाई अग्रता दिलाएका थिए। त्यसपछि तल्लो क्रममा दशौं विकेटको लागि बुम्राह र मोहम्मद सिराजले ३३ रनको साझेदारी गरे।
इंग्ल्यान्डका ओली रोबिन्सनले उत्कृष्ट बलिङ गर्दै पहिलो पटक ५ विकेट लिँदा २६.५ ओभरमा ६ मेडन ओभर गर्दै ८५ रन खर्चिए। यस्तै जेम्स एण्डरसनले ४ विकेट लिए। एण्डरसन अनिल कुम्बलेलाई उछिन्दै टेस्टमा सर्वाधिक तेस्रो विकेटकर्तासमेत बने।
यसअघि टेस्टमा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिंङ्समा १८३ रन बनाएको थियो। इंग्ल्यान्डको लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाए जुन क्रममा १०८ बलमा ११ चौका प्रहार गरे। यस्तै जोनी बेयरस्टोले २९ रन, स्याम करनले अविजित २७ रन, ज्याक क्रलेले २७ रन, डोमिनिक सिबलेले १८ रन योगदान दिए।
इनिंग्सको पहिलो ओभरमै रोरी बर्न्सखाता नखोली एलबिडब्लु परेपछि दोस्रो विकेटको लागि डोमिनिक सिबले र ज्याक क्रलेले ४२ रन जोडे।
चौथो विकेटको लागि कप्तान रुटले जोनी बेयरस्टोसँग ७२ रनको साझेदारी गरे। बेयरस्टोलाई मोहम्मद शामीले एलबिडब्लु गर्दै साझेदारी तोडे। सोहि ओभरमा ड्यानीयल लरेन्स पनि खाता नखोली क्याच आउट भए। जोस बटलर पनि खाता नखोली जस्प्रित बुम्राहबाट क्याच आउट भए। त्यसपछि स्याम करनले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट जाने क्रम निरन्तर रह्यो। फलस्वरुप रुटको विकेट जानु अघि १५५/६ को अवस्थाबाट बाँकी ४ विकेट गुम्दा इंग्ल्यान्डले थप २८ रन मात्र योगफलमा जोड्न सक्यो।
भारतको बलिङमा जसप्रित बुमराहले सर्वाधिक ४ विकेट, मोहम्मद शामीले ३ विकेट, शार्दुल ठाकुरले २ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए।