श्रीलंकाका पूर्व कप्तान दिनेश चन्डिमलले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका हुन्।
पहिलो विदेशी खेलाडीका रूपमा भैरहवाले श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमललाई अनुबन्ध गरेको हो।
चान्डिमल श्रीलंकाको टि२० आई टोली कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चान्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टि२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।
२०१४ को टि२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चान्डिमल पनि उक्त टोलीका सदस्य थिए । श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । चान्डिमल ओडिआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा कप्तानी गरेका थिए ।
चान्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडिआई र ५७ टि२० आई खेल खेलेका छन् । टि२० आईमा चान्डिमलले ५ अर्धशतक सहित कुल ८ सय ६८ रन जोडेका छन् । चान्डिमलले राजस्थान रोयल्सबाट आइपिएल खेलि सकेका छन् । ३१ वर्षिय विकेटकिपर ब्याट्सम्यान चान्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चान्डिमलले श्रीलंका टेस्ट, ओडिआई र टि२० तीनै शैलीमा कप्तानी गरेका छन् ।
एभरेस्ट प्रिमियर लिग (इपिएल) को लागि भैरहवा ग्ल्याडीयटर्सले आन्तरिक तयारी सुरू गरिसकेको भन्दै कोरोना संक्रमणका कारण यसअघि प्रतियोगिता सर्दा प्रशिक्षक नियुक्ति, ट्यालेन्ट हन्ट लगायत विभिन्न कार्यक्रम पूरा गरिसकेको बताएको छ।
‘कोरोनाका कारण प्रतियोगिता केहि पछि सरेपनि हामीले प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दसानायकेलाई नै जिम्मेवारीमा निरन्तरता दिएका छौं’, क्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
टोलीमा यसअघि झैं शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा निरन्तर रहेका छन् ।
हाल अन्य विदेशी खेलाडीको नाम छलफलकै क्रममा रहेकाले केहि दिनमा नै त्यसबारे जानकारी दिने भैरहवाले जनाएको छ।