घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा खराब सुरूआत गरेको छ । लर्ड्समा जारी टेस्टको दोस्रो दिनको खेल सकिँदासम्म इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय १८ रन जोडेको छ ।
दोस्रो दिनको खेल सकिँदासम्म पहिलो इनिङ्समा इंग्ल्यान्ड २ सय ४६ रनले पछि रहेको छ ।
इंग्ल्यान्डका लागि कप्तान जोए रूट ४९ रन र जोनी बेयर्स्टो ६ रनमा अविजित छन् ।
यसअघि रोरी ब्रुन्सले ४९ रन बनाउँदा डम सिब्लीले ११ रन जोडेका थिए। हासिब हामिद शुन्य रनमा आउट भएका थिए।
भारतका मोहमद सिराजले २ तथा मोहमद शामीले १ विकेट लिए।
यसअघि केएल राहुल र रविन्द्र जडेजाको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड विरूद्ध जारि दोस्रो टेस्टमा भारतले पहिलो इनिंग्समा सम्पूर्ण विकेट गुमाएर ३६४ रन बनाएको थियो।
दिनको सुरुवात २७६/३ को अवस्थाबाट गरेको भारतले दोस्रो दिन थप ३६.१ ओभर ब्याटिङ गर्दा ८८ रन जोड्दै ७ विकेट गुमायो।
दिनको सुरुवातमा १२७ रनमा अविजित रहेका केएल राहुल थप २ रन जोडेर आउट भए। राहुललाई ओली रोबिन्सनले क्याच आउट गराए। अजिन्क रहाणे पनि १ रन बनाएर जेम्स एण्डरसनबाट क्याच आउट भए।
छैठौं विकेटको लागि रिशभ पन्त र रभिन्द्र जडेजाले ४९ रनको साझेदारी गरे। पन्त ३७ रन बनाएर मार्क वुडबाट क्याच आउट भएपछि जडेजाले एक किनार सम्हालेता पनि अन्य ब्याट्सम्यानले लामो साथ दिन सकेनन्। अन्तिम विकेटको रुपमा आउट भएका जडेजाले ४० रन बनाए। टेस्टको पहिलो दिन भारतीय ओपनर रोहित शर्माले ८३ तथा कप्तान बिराट कोहलीले ४२ रन बनाएका थिए।
इंग्ल्यान्डको बलिङमा जेम्स एण्डरसनले सर्वाधिक ५ विकेट लिए भने ओली रोबिन्सन र मार्क वुडले समान २-२ विकेट लिए। मोइन अलिको नाममा १ विकेट रह्यो।