अफगानिस्तानका क्रिकेटर रासिद खान अहिले इंग्ल्यान्डमा छन्। उनी इंग्ल्यान्डमा सञ्चालन भइरहेको 'द हन्ड्रेड' क्रिकेट खेलिरहेका छन्।
ट्रेन्ट रकेट्समा आबद्ध लेगस्पिनर राखिदले आइतबार टिमका लागि तीन विकेट लिन सफल भए। २२ वर्षीय खानको उत्कृष्ट प्रदर्शनसँगै रकेट्सले म्यानचेस्टर ओरिजिनल्सलाई ७ विकेटले हरायो।
६ वर्षको टी-२० करिअरमा उनको यो २७५औं खेल हो। सन् २०१५ मा टी-२० मा डेब्यू गरेयता उनले १३ फरक टिमबाट खेलिसकेका छन्। उनले विश्वभरका ६४ मैदानमा आफ्नो जादू देखाइसकेका छन्।
सधैं विकेटमा खुसी मनाउने खानले आइतबार पहिलो विकेट लिँदा उनमा खासै उत्साह थिएन। उनी विकेट लिँदा मुस्कुराए मात्र।
आइतबार तीन विकेट लिएसँगै उनले टी-२० मा आफ्नो विकेट संख्या ३८३ पुर्याए। उनी टी-२० मा सर्वाधिक विकेट लिने बलरको सूचीमा पाँचौ स्थानमा छन्। विश्वको उत्कृष्ट बलर बन्नका लागि उनले ठूलो त्याग गरेका छन्।
पछिल्लो पाँच वर्षमा उनी घरमा २५ दिन मात्र बसेका छन्। उनले प्रतियोगिता सुरु हुनुअघि आफूले परिवारका लागि समय दिन नसकेकोमा दु:ख लागेको बताएका थिए। योबीचमा उनले आफ्ना आमाबुबा पनि गुमाए।
'मैले परिवारका लागि पर्याप्त समय पाइन। यहि समय मेरो करिअर सुरु भएको थियो। मैले दु:ख पर्नु पर्थ्यो,' उनले भनेका थिए।
पछिल्लो तीन सातादेखि द हन्ड्रेड खेलिरहेका उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन्। उनले आठ खेलमा १२ विकेट लिइसकेका छन्।
यो तीन साताको बीचमा उनी क्रिकेटसँगै सामाजिक सञ्जालमा पनि सक्रिय देखिए। उनले सामाजिक सञ्जालमा अफगानिस्तानमा मानवीय साहयताका लगि आह्वान गर्दै सन्देश लेखिरहे।
'हामीलाई अराजकतामा नछोड्नुहोस्। अफगानीलाई मार्न र अफगानिस्तानलाई नष्ट गर्न बन्द गर्नुहोस्,' उनले सामाजिक सञ्जालमा लेखे।
आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि उनले सामाजिक सञ्जालमा एक शब्द मात्र लेखे- 'शान्ति'। अनि प्रार्थनाका तीन इमोजी र अफगानिस्तानको तीन वटा झण्डा पनि शब्द पछाडि राखे।
'एक खेलाडीको रूपमा यसले तपाइँलाई धेरै दुखी बनाउँछ। धेरै दुख्छ, तर एकै समयमा हामी मात्र [देशका मानिसहरुलाई] खुसी बनाउन को लागि केहि विशेष गर्नको लागी हाम्रो सबै भन्दा राम्रो प्रयास गरीरहेछौं,' उनले गत महिना देशको स्थितिको बारेमा भनेका थिए।
२० सेप्टेम्बर १९९८ मा पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको राजधानी जलालावादमा जन्मेका हुन्, रासिद।
राजधानी काबुलबाट १५० किलोमिटर पूर्वमा पर्ने यो ठाउँमा काबुल र कुनार नदी मिसिन्छन्। यो अफगानिस्तानको क्रिकेट ‘पावर हाउस’ पनि हो। १४ हजार क्षमताको घाजी अमान्नुल्लाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको यही ठाउँबाट धेरै अफगान क्रिकेटर जन्मिएका छन्।
११ भाइबहिनीमध्ये रसिद ७ औं हुन्। उनका ६ दाजुभाइ र ४ दिदीबहिनी छन्।
सन् २००१ मा अलकायदाले अमेरिकाको ट्विनटावरमा आक्रमण गर्यो। अलकायदालाई संरक्षण गरेको भनेर त्यही वर्ष अमेरिकाले अफगानिस्तानमा सेना पठायो। तालिबानको सरकार अपदस्त गर्यो। अफगानिस्तानमा फेरि युद्ध सुरू भयो।
अफगानीहरू फेरि शरणार्थी बनेर पाकिस्तान पस्न थाले।
रसिद १० वर्षका हुँदा उनको परिवार पनि शरणार्थी बनेर पाकिस्तान आयो।
क्रिकेट उनको परिवारमै थियो। दाइहरू सबै पाकिस्तानी टिमका फ्यान थिए। घरमा टिम बनाएर क्रिकेट खेल्थे। रसिद पनि उनीहरूसँगै मिसिन्थे।
कान्छा उनलाई दाइहरू कहिल्यै बल र ब्याट दिदैँनथे। फिल्डिङमा पठाइदिन्थे।
कुची ट्राइब टिमबाट डोमेस्टिक क्रिकेट खेल्ने उनी सुरूमा ओपनिङ ब्याट्सम्यान थिए। १/२ ओभरमात्र बलिङ गर्थे।
एकदिन उनका कप्तानले भनेछन्- तिमी त ब्याटिङभन्दा बलिङ राम्रो गर्छौं। उनले रसिदको बलिङको प्रशंसामात्र गरेनन्। बलिङमात्र गरोस् भनेर ८/९ नम्बरमा आउने ब्याट्सम्यान बनाइदिए छन्।
कहिले शरणार्थी बनेर त कहिले जलालावादका गल्ली र सडकमा क्रिकेट खेलेर रसिद हुर्किएजस्तै अफगानी क्रिकेट पनि हुर्कियो।
सन् २००० मै तालिबानले क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। त्यसको एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अफगानी क्रिकेट बोर्डलाई सम्बन्धन दियो।
त्यही वर्ष अफगानिस्तानले पहिलो पटक राष्ट्रिय क्रिकेट टोली बनायो। दुई वर्षपछि अफगानिस्तान एसियन क्रिकेट काउन्सिलको सदस्य बन्यो।
त्यसताका नेपाली क्रिकेट अफगानिस्तानभन्दा बलियो थियो।
२०१५ मा अफगानिस्तानले एकदिवसीय विश्वकप नै खेल्यो। स्कटल्याण्डविरूद्ध एक विकेटको पहिलो जित पनि निकाल्यो। त्यही वर्षदेखि भारतको ग्रेट नोयडा रंगशालालाई अफगानिस्तानको घरेलु मैदान घोषणा गरियो। त्यही बेलादेखि हो रासिद अफगानी क्रिकेटसँग जोडिएको।
सन् २०१५ मा अन्डर-१९ विश्वकप खेल्ने नयाँ प्रतिभा खोज्ने क्रममा प्रशिक्षकका आँखा रासिदमाथि परेका हुन्।
प्रशिक्षक उनलाई भनेका थिए- यदि तिमीले तीन महिना मेहनत गरेर खेल्यौ भने महान क्रिकेटर बन्नेछौ। रासिद यू-१९ टोलीमा परे। दौलतको कुरा सम्झिरहे र त्यहीअनुसार मेहनत पनि गरे। नभन्दै उनी त्यही वर्ष राष्ट्रिय टोलीमा परे।
२०१५ मा उनी १७ वर्षको हुँदा उनले दुबै अक्टोबर १८ मा जिम्बाबेविरूद्ध ओडिआई डेब्यू गरेका उनले १० दिन नबित्दै जिम्बाबेविरूद्धै टिट्वान्टी पनि डेब्यु गरे।
उनी एकदिवसीय क्रिकेटमा संसारकै कान्छा कप्तान समेत बने। सन् २०१८ को वर्ल्ड कप क्वालिफायरमा स्कटल्याण्डविरूद्धको खेलमा कप्तानी सम्हाल्दा उनी १९ वर्ष १६५ दिनका थिए। त्यो दिन नियमित कप्तान असगर स्तानिकजाईको शल्यक्रिया गर्नुपरेकाले कप्तानको जिम्मेवारी रसिदको काँधमा आएको थियो।
२०१८ फेब्रुअरीमा आइसिसीको एकदिवसीय बलरको नम्बर वान हुँदा उनी कम उमेरमा त्यो ठाउँमा पुग्ने पहिलो खेलाडी बनेका थिए। टिट्वान्टीमा पनि उनले त्यही रेकर्ड कायम गरे।
२०१७ मा आइसिसी एसोसियट प्लेयर अफ द अर्वाड पाएका रसिद त्यो अवार्ड पाउने अहिलेसम्मकै कान्छा खेलाडी हुन्।
टिट्वान्टी फर्म्याटमा २ ओभरमा पाँच विकेट लिने रसिद पहिलो खेलाडी हुन्। सन् २०१७ मा आयरल्याण्डविरूद्धको खेलमा उनले २ ओभरमा ३ रनमात्र खर्चेर ५ विकेट हात पारेका थिए।
ओडिआईको एकै खेलमा ७ विकेट लिने उनी एसोसियट राष्ट्रको पहिलो खेलाडी हुन्। वेस्ट इन्डिजसँग २०१७ मा भएको खेलमा उनले १८ रन खर्चेर ७ विकेट लिएका थिए।
इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने उनी पहिलो अफगानी खेलाडी हुन्।
२०१७ फेब्रुअरीको अक्सनमा उनी आइपिइएलमा एसोसिएट राष्ट्रका सबैभन्दा महंगा खेलाडी बने। सनराइजर्स हैदरावादले उनलाई ४ करोड भारूमा किन्यो।
रसिदले बंगलादेश प्रिमियर लिग, क्यारेबिनयन प्रिमियर लिग र बिग ब्यास लिग जस्ता विश्व प्रसिद्ध लिग पनि खेले।