आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पिएनजीसँग सेप्टेम्बर ५ र ८ मा एकदिवसीय खेल खेल्ने पक्का भएको हो। दुवै खेल ओमानमा हुनेछ भने खेल डे/नाइट हुनेछ।
पिएनजीसँग खेलेपछि नेपालले अमेरिका र ओमानसँग लिग-२ को खेलमा प्रतिस्पर्धा गर्नेछ। लिग-२ आगामी १३ देखि २० सेप्टम्बर (भदौ २८ देखि असोज ४ सम्म) हुनेछ।
त्यसपछि ओमानमै ओमान, स्कटल्यान्ड र पिएनजी सम्मिलिन अर्को सिरिज हुनेछ।
नेपालका लागि लिग-२ को यो दोस्रो सिरिज हो।
यसअघि नेपालले सन् २०२० को सुरुवातमा घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। सो सिरिजमा ओमान र अमेरिकासँगै प्रतिस्पर्धा भएको थियो। जसमा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गर्दा ओमानविरुद्धका दुवै खेल गुमाएको थियो।
लिग-२ मा नेपाल, स्कटल्यान्ड, युएई, नामिबिया, पिएनजी, ओमान र अमेरिका गरी सात टिमबीच प्रतिस्पर्धा हुने तय छ।