भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई १५१ रनले हराउँदै पाँच टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ।
लर्ड्समा सम्पन्न खेलमा भारतले दिएको २७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ५१.५ ओभरमा अलआउट हुँदै १२० रनमा समेटियो।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डका लागि कप्तान जो रूटले सर्वाधिक ३३ रन बनाए। यस्तै जोस बटलरले २५ रन बनाउँदा मोइन अलीले १३ रन जोडेका थिए। इङ्ल्याण्डले अतिरिक्तबाट २९ रन जोड्नुबाहेक बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर गर्न सकेनन्। इङ्ल्याण्डका ५ खेलाडी शुन्यमा आउट भएका थिए।
घरेलु टोलीलाई सस्तैमा रोक्न भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए। जस्प्रित बुम्राहले ३, इशान्त शर्माले २ तथा मोहम्मद शामीले १ विकेट लिए।
यसअघि पाँचौ दिनको सुरूवात १८१/६ को अवस्थाबाट गरेको भारतले पहिलो सेसन पुरै र दोस्रो सेसनमा ९ बल ब्याटिंग गर्दै पारि समाप्तिको घोषणा गरेको थियो।
२ विकेट मात्रै गुमाएर योगफलमा ११७ रन जोड्दै भारतले दिनको ६० ओभर खेल बाँकी रहँदा २७२ रनको लक्ष्य प्रस्तुत गर्यो। रिसभ पन्त २२ तथा इशान्त शर्मा १६ रन बनाएर आउट भएपछि नवौं विकेटको लागि मोहम्मद शामी र जस्प्रित बुम्राहले ८९ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक स्कोरमा पुर्याए।
यस क्रममा शामीले टेस्ट करियरको दोस्रो अर्धशतक पुरा गर्दै ७० बलमा ६ चौका र १ छक्का मद्दतले ५६ रन बनाए। बुम्राहले ६४ बलमा ३ चौका मद्दतले ३४ रन बनाए। यस अघि भारतको लागि अजिंके रहानेले ६१ रन तथा चेतेश्वर पुजाराले ४५ रन योगदान दिएका थिए।
खेलमा टस हरेर ब्याटिङ गरेको भारतले पहिलो इनिंग्समा ३६४ रन बनाएको थियो।
भारतले पहिलो इनिंग्समा १२६.१ ओभर ब्याटिंग गर्दै ३६४ रनमा सबै विकेट गुमाएको थियो। दिनको सुरुवात २७६/३ को अवस्थाबाट गरेको भारतले दोस्रो दिन थप ३६.१ ओभर ब्याटिङ गर्दा ८८ रन जोड्यो भने ७ विकेट गुमाउन पुग्यो।
भारतको लागि ओपनर केएल राहुलले करियरको छैठौं शतक बनाउने क्रममा सर्वाधिक १२९ रन बनाए जुन क्रममा २५० बलमा १२ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर रोहित शर्माले ८३ रन, बिराट कोहलीले ४२ रन, रभीन्द्र जडेजाले ४० रन तथा रिशभ पन्तले ४२ रन बनाए।
इंग्ल्याण्डको बलिङमा जेम्स एण्डरसनले सर्वाधिक ५ विकेट लिए भने ओली रोबिन्सन र मार्क वुडले समान २ विकेट लिए। मोइन अलिले १ विकेट लिए।
पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित बनेपछि बराबरीमा टुंगिएको थियो।