अफगानिस्तान क्रिकेट बोर्डले महिला राष्ट्रिय क्रिकेट टिम निर्माण अभियान रोकिने गरेको छ। अफगानिस्तानमा विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेसँगै महिला क्रिकेट टिमको गतिविधि पनि रोकिने अपेक्षा गरिएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को स्थायी सदस्यको महिला टिम हुनै पर्ने प्रावधान छ। त्यहीँ नियमअनुसार अफगानिस्तानले पनि महिला टिम निर्माण गरिरहेको थियो।
हाल अफगानिस्तानले २५ महिला क्रिकेटरसँग सम्झौता गरेको अवस्था छ। सन् २०२० मा उनीहरूसँग केन्द्रीय सम्झौता गरिएको थियो।
‘मलाई लाग्छ अब यो रोकिन्छ, यो मेरो अनुमान हो,’ अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी हमिद शिन्वारीले स्पोर्ट्स डेक्सको पडकास्टमा बोल्दै भने।
‘भविष्यमा ठ्याक्कै के हुन्छ मलाई पनि थाहा छैन। हामीले महिला क्रिकेटरलाई तलब दिइरहेका छौं। यदि सरकार राष्ट्रिय महिला टिम चहादैन भने हामीले रोक्नुपर्छ।’
महिला क्रिकेटरलाई तलब दिए पनि अफगानिस्तानले अहिलेसम्म आइसिसीको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। तर महिला क्रिकेट विकासका लागि राष्ट्रिय स्तरमा कार्यक्रम गरिरहेको छ।
यसअघि तालिवानले सन् १९९६ देखि २००१ मा शासन गर्दा उनीहरूले महिलालाई शिक्षा लिनबाट निषेध गरेका थिए। पुरुष नातेदारबिना महिला घरबाट समेत बाहिर निस्कन पाउँदैन थिए।
अहिले तालिवानले महिला अधिकारको सम्मान गर्ने बताइरहेका छन्।
अफगानिस्तान महिला फुटबल टिमकी पूर्व कप्तान खालिदा पोपालले महिला क्रिकेट अफगानिस्तानमा नयाँ भएको यसको भविष्यको बारेमा भन्न नसकिने बताएकी छिन्।
‘अफगानिस्तानमा महिला क्रिकेट नयाँ हो। त्यसैले यसको प्रभावको बारेमा थाहा छैन। यो सरकारको हातमा हुनेछ। हामीसँग सरकारको नियम मानेर अघि बढ्नु पर्ने विकल्प मात्र छ।'