सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टिमले समूह चरणमा तहल्का मच्चाएको थियो।
समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्यान्डलाई हरायो।
आयरल्यान्डविरुद्धको खेलमा सन्दीप लामिछानेले ह्याट्रिक गर्दै सनसनी मच्चाएका थिए।
आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै छाएका सन्दीपले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन।
सो विश्वकपको समूह चरणको तेस्रो खेलमा भारतसँग पराजित भए पनि नेपाल क्वार्टरफाइनलमा पुग्यो। क्वार्टरफाइनलमा बंगलादेशसँग पराजित भयो।
त्यसयता भने नेपालले युवा विश्वकप खेल्ने अवसर पाएको छैन।
सन् २०२२ मा वेस्ट इन्डिजमा हुने विश्वकपमा पनि नेपाल सहभागी हुने छैन। योसँगै नेपाल लगातार तेस्रो पटक युवा विश्वकप खेल्नबाट बन्चित भएको हो।
यसपटक नेपालको विश्वकप खेल्ने लक्ष्यमा कोरोना महामारी बाधक बन्यो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोनाका कारण एसिया छनोट रद्द गर्दै युएईलाई अवसर गर्ने निर्णय गर्यो।
आइसिसीले पछिल्लो पाँच विश्वकपको छनोटको आधारलाई मान्दै एसियाबाट युएईलाई छनोट गरेको हो। पछिल्ला पाँच युवा विश्वकप मध्ये युएईले २०१४ र २०२० को विश्वकप खेलेको थियो। युएईले २०१४ मा आयोजकको हैसियतमा विश्वकप खेल्दा २०२० मा नेपाललाई पछि पार्दै विश्वकप खेलेको थियो।
नेपालले पछिल्ला पाँच विश्वकप मध्ये २०१२ र २०१६ को विश्वकप खेलेको थियो।
सन् २०२० को युवा विश्वकपको छनोटमा नेपालको लक्ष्यलाई बर्षाले असर गरेको थियो।
सन् २०१९ को अप्रिलमा मलेसियामा भएको छनोटअन्तर्गत युएईविरुद्धको खेलमा बर्षा बाधक बन्यो। बर्षा बाधक बन्दा नेपाल डिएल मेथडमा १ रनले पराजित हुन बाध्यो। उक्त हार नेपालका लागि विश्वकप खेल्नमा बाधक बन्यो। अरु सबै खेलमा जित हात पारे पनि नेपाल समूहमा युएईभन्दा पछि पर्दै दोस्रो भयो।
युएईसँग डिएल मेथडमा हारेको मूल्य नेपालले फेरि चुकाउनु परेको छ। आइसिसीले अघिल्लो विश्वकपमा छनोट भएको युएईलाई सन् २०२२ को विश्वकप छनोट गर्दा नेपाल फेरि पनि विश्वकप खेल्नबाट बञ्चित भएको छ।
२०१८ को विश्वकपमा पनि नेपाल छनोट हुन सकेन। सिंगापुरमा भएको छनोट प्रतियोगितामा नेपाल, अफगानिस्तान, हङकङ, युएई, सिंगापुर र मलेसियाले भाग लिएका थिए।
नेपाल अफगानिस्तानसँग खेलेका दुवै खेलमा पराजित भयो। अन्य सबै खेल जिते पनि नेपालले अफगानिस्तानलाई पछि पार्न सकेन।