श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रशन्न र मलेसियाका विरनदीप सिंहले चितवन टाइगर्सबाट बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) मा प्रतिस्पर्धा गर्ने भएका छन्। इपिएलको अगामी संस्करण असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुँदैछ।
लेग स्पिनर सेकुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ।
टी–२० का मान्यता प्राप्त सबै गरेर १७० खेलमा उनले १३५ विकेट लिदा प्रतिओभर ७ रनको हिसाबमा मात्र रन खर्चेका छन्। उपयोगी ब्याट्सम्यान पनि रहेका ३६ वर्षे उनले १३८ छक्का र १०७ चौका प्रहार गरिसकेका छन्।
सिमित ओभरको खेलमा उनी लामो समयसम्म श्रीलंकाको मुख्य स्पिनरको रुपमा रहे । उनी राम्रो गुगली फाल्न माहिर छन्।
सेकुगेले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध कोलम्बोमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ खेलमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए। त्यसको तीन साता अघि उनले आफ्नो एकमात्र टेस्ट अस्ट्रेलियाविरुद्ध नै खेलेका थिए। उनले २०१६ मा आयरल्यान्डविरुद्ध ४६ बलमा ९५ रन बनाएर सनथ यसुर्याले श्रीलंकाको नाममा राखेको फास्टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय शतकको नजिक पुगेका थिए।
उनले २३ बलमा बनाएको अर्धशतक श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचौं फास्टेस्ट अर्धशतक पनि हो ।
उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी २० ब्लास्ट खेलेका छन्।
‘सेकुगे प्रसन्न प्रशस्त क्षमता भएका खेलाडी हुन्। उनको ब्याटिङ र बलिङ दुबैले खेलको नक्शा परिवर्तन गर्न सक्छ।
उनी म्याच विजयी खेलाडी हुन्। विश्वभरी खेलेको उनको अनुभवले चितवन टाइगर्सलाई उपाधिको रुपमा अझ बलियो प्रत्यासी बनाएको छ उनको आगमनले हाम्रो टोली अझ बलियो हुनेछ। नेपालको प्रमुख खेलकुद प्रतियोगितामा उनको क्षमतालाई हेर्न हामी प्रतिक्षा गरिरहेका छौं,’ चितवन टाइगर्सका टिम मालिक किशोर भट्टराईको भनाइ छ।
विरनदीप मलेसियाका मध्यपंक्तिका ब्याट्सम्यान हुन्। उनले विकेटकिपिङ गर्नुका साथै आवश्यक्ता अनुरुप देब्रेहाते बलिङ पनि गर्छन् ।
उमेर समूह देखि प्रभावशाली प्रदर्शन गर्दै आएका २२ उनले एसोसिएट क्रिकेटको भविष्यको रुपमा हेरिन्छ । हाल मलेसिया क्रिकेट टोलीका उपकप्तान पनि रहेका उनले २०१९ को जुन २४ मा थाइल्यान्डविरुद्ध खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।
उनी नेपाली समर्थक माझ परिचित नाम हुन्। वैशाखमा भएको तीन देशीय ट्वान्टी–२० सिरिजमा उनले नेदरल्यान्ड्सविरुद्ध ५३ बलमा ८७ रन बनाएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए। हालै सम्पन्न मलेसिया क्रिकेट एसोसिएसन (एमसीए) सिरिजमा उनले सर्वाधिक रन बनाउनुका साथै विकेट लिएका थिए। उनले १९३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए।
पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडी डानिस अजिज र अफगानिस्तानका मोहम्मद साहजाद टाइगर्समा अनुबन्धित भइसकेका छन्।