डेभ वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका छन्।
उनले ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिने भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल लेखेका छन्।
उनले क्यानलाई इमेल पठाएको क्यान स्रोतले पुष्टि गरेको छ। इमेलमा उनले व्यक्तिगत कारणले राजीनामा दिएको इमेलमा लेखेका छन्।
महामारीको अवस्थामा आफूले परिवारलाई समय दिने भन्दै उनले क्यानलाई इमेल लेखेका छन्। साथै उनले नेपाली क्रिकेट टिमको प्रशिक्षक भएर काम गर्दा पाउँदा खुसी लागेको पनि लेखेका छन्।
हाल वाटमोरसहितको नेपाली टिम ओमानमा छ।
ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानमा छ।
ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। सो सिरिजपछि वाटमोरले नेपाली टिम छाड्नेछन्।
यसअघि उनी गत पुसमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए।
वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी एक वर्षका लागि नेपाली टिम सम्हाल्नेका थिए।
श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्।
६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ।
उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।
उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक रहे।
वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए।
त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने।
सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी-२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो।
त्यसपछि उनी भारत फर्किए। भारतमा उनले केरलाको टिमलाई प्रशिक्षण दिए।
पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने।