पहिलो इनिंग्समा खराब ब्याटिङ गर्दै ७८ रनमा समेटिएको भारतले इङ्ल्याण्डविरूद्धको दोस्रो इनिंग्समा उत्कृस्ट पुनरागमन गरेको छ।
हेडिंगलेमा जारी टेस्टको तेस्रो दिन सकिँदा भारतले ८० ओभर ब्याटिङ गर्दै २ विकेट गुमाएर २१५ रन बनाएको छ। अझै इंग्ल्यान्डले पहिलो इनिंग्समा बनाएको योगफल भन्दा भारत १३९ रनले पछि छ।
भारतका लागि रोहित शर्माले अर्धसतकीय पारी खेल्दा ओपनर केएल राहुल ८ रन बनाएर आउट भए।
शर्माले चेतेश्वर पुजारासँग दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरूआत दिलाए। १५६ बल खेलेका रोहित ७ चौका र १ छक्कासहित ५९ रनमा ओली रोबिन्सनको एलबिडब्लु धरापमा परे।
तेस्रो विकेटको लागि पुजाराले कप्तान बिराट कोहलीसँग ९९ रनको साझेदारी गर्दा दिनको समाप्ति भएको थियो। सिरिजमा पहिलो अर्धशतक बनाएका पुजारा ९१ रनमा अविजित छन् जुन क्रममा १८० बलमा १५ चौका प्रहार गरेका छन्। कप्तान कोहली पनि सिरिजको सर्वाधिक स्कोर बनाउने क्रममा ४५ रनमा अविजित छन् जुन क्रममा ९४ बलमा ६ चौका प्रहार गरेका छन्।
इंग्ल्यान्डका लागि ओली रोबिन्सन र क्रेग ओभरटनले समान १-१ विकेट लिएका छन्।
तेस्रो दिनको सुरूवात ४२३/८ को योगफलबाट गरेको इंग्ल्यान्डले योगफलमा थप ९ रन जोड्दा बाँकी २ विकेट गुमायो।
इंग्ल्यान्डको इनिंग्समा कप्तान जो रुटले सर्वाधिक १२१ रन बनाएका थिए। रुटले १ सय ६५ बलमा १४ चौका मद्दतमा १ सय २१ रनको योगदान गरे । रुटको यो २३औं शतक हो । यस वर्ष भने उनको यो छैटौं शतक हो ।
टेस्टको पहिलो इनिंग्समा भारतले ७८ रन बनाएको थियो भने इंग्ल्यान्डले ४३२ रन बनाउदै ३५४ रनको विशाल अग्रता हाँसिल गरेको थियो।
पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो भने दोस्रो टेस्टमा भारत १५१ रनले विजयी भएको थियो।