बंगलादेश भ्रमणमा रहेको न्युजिल्यान्डले तेस्रो खेलबाट पहिलो जित निकालेको छ। सिरिजमा २-० ले पछि परेको पाहुना टोली न्यूजिल्याण्डले आइतबार बंगलादेशलाई ५२ रनले हराउँदै पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज २-१ को स्थतिमा ल्याएको छ।
शेरे बंग्ला स्टेडियम, ढाकामा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १९.४ ओभरमा सबै विकेट गुमाएरमा मात्र ७६ रनमा समेटियो।
बंगलादेशका लागि मुश्फिकुर रहिमले अविजित सर्वाधिक २० रन बनाउँदा लिटन दासले १५ तथा मोहम्मद नैम १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्युजिल्यान्डका देब्रे हाते स्पिनर एजाज पटेलले सर्वाधिक ४ विकेट लिए। अफस्पिनर कोल म्याककोन्चीले ३ विकेट लिँदा रचिन रभीन्द्र, स्कट कग्लाइन र कोलिन डी ग्रयाण्डहोमले समान १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।
उसको लागि हेनरी निकोलसले सर्वाधिक ३६ र टम ब्लनडेले ३० रन बनाए। विल योंग र रचिन रभीन्द्रले समान २० रन तथा फिन एलेनले १५ रन बनाए।
एक समय ६२ रनमा ५ विकेट गुमाएको न्यूजिल्याण्डका लागि निकोलस र ब्लन्डेलले अविजित ६६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए।
बंगलादेशका लागि मोहम्मद सैफुद्दीनले २ तथा मेहदी हसन, मुस्तफिजुर रहमान र महमुदुल्लाहले समान १-१ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेल बंगलादेशले ७ विकेटले जितेको थियो भने दोस्रो खेल ४ रनले जितेको थियो। सिरिजको बाँकी दुई खेल सेप्टेम्बर ८ र १० तारिखमा हुनेछ।