पपुवा न्युगिनी (पिएनजी)ले नेपाललाई एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा १३५ रनको लक्ष्य दिएको छ।
ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सक्यो।
पिएनजीका लागि लेगा शैकाले सर्वाधिक ३० रन बनाउँदा चार्लेस आमिनीले २३ रन जोडे। गाउडी टोकाले २२ रन बनाउँदा किपलिन दोरिगाले १५ तथा शेशे बाउले १४ रन बनाए।
अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।
यस्तै विक्रम शोब, सोमपाल कामी र कुशल मल्लले समान २-२ विकेट हात पारे।
नेपालका लागि डेब्यू खेलाडी विक्रम शोबले धारिलो बलिङ गर्दै सुरूवाती २ विकेट लिएका थिए। उनले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड गर्दै पवेलियनको बाटो देखाए।
एकदिवसीय क्रिकेटमा डेब्यु जनाउने क्रममा विक्रमले दोस्रो सिकारका रुपमा उरालाई स्थानान्तरण गर्न क्रिजमा आएका कप्तान असाद भालालाई आउट गरे । चार रन बनाएका भेलालाई विक्रमले आरिफ शेखको हातबाट क्याच गराएका थिए ।
विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको शृंखला खेलेको हो। शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका र ओमानका राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिदेशीय शृंखला भदौ २८ देखि असोज चार गतेसम्म ओमानमा हुनेछ।