पपुवा न्युगिनी(पिएनजी) विरुद्धको एकदिवसीय खेलमा नेपालका दुवै ओपन आउट भएका छन्।
ओमानमा भइरहेको खेलमा पिएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख आउट भएका हुन्।
आसिफ ३० रन र कुशल १५ रन बनाएर आउट भए। आसिफले ४६ बलमा ४ चौका हिर्काउँदा कुशलले २८ बलमा २ चौका प्रहार गरे।
दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।
अहिले कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेख ब्याटिङ गरिरहेका छन्। नेपालले १६ ओभरको खेल सकिदा २ विकेटको क्षतिमा ५३ रन बनाएको छ।
ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सक्यो।
ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सक्यो।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।
यस्तै विक्रम शोब, सोमपाल कामी र कुशल मल्लले समान २-२ विकेट हात पारे।
नेपालका लागि डेब्यू खेलाडी विक्रम शोबले धारिलो बलिङ गर्दै सुरूवाती २ विकेट लिएका थिए। उनले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड गर्दै पवेलियनको बाटो देखाए।
एकदिवसीय क्रिकेटमा डेब्यु जनाउने क्रममा विक्रमले दोस्रो सिकारका रुपमा उरालाई स्थानान्तरण गर्न क्रिजमा आएका कप्तान असाद भालालाई आउट गरे । चार रन बनाएका भेलालाई विक्रमले आरिफ शेखको हातबाट क्याच गराएका थिए ।
विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको शृंखला खेलेको हो। शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका र ओमानका राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिदेशीय शृंखला भदौ २८ देखि असोज चार गतेसम्म ओमानमा हुनेछ।