पपुवा न्युगिनी(पिएनजी) विरुद्धको एकदिवसीय खेलमा नेपालका मध्यक्रमका ब्याट्सम्यानले खराब ब्याटिङ गरेका छन्।
ओमानमा भइरहेको खेलमा पिएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले सुरुवाती पाँच विकेट गुमाइसकेको छ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेख पनि आउट भइसकेका छन्। यस्तै शरद भेषवाकर पनि पेभिलियन फर्किएका छन्।
आसिफ ३० रन र कुशल १५ रन बनाएर आउट भए। आसिफले ४६ बलमा ४ चौका हिर्काउँदा कुशलले २८ बलमा २ चौका प्रहार गरे। दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।
ज्ञानेन्द्रले २० बल खेल्दा ६ रन मात्र जोड्न सके। यस्तै आरिफ १९ बल खेलर ९ रन बनाएर आउट भए।
शरदले २२ बलमा ६ रन मात्र जोड्न सके।
कुशल र आरिफ एलबिडब्लूको धरापमा पर्दा आसिफ र ज्ञानेन्द्र क्याच आउट भए।
बलिङमा पिएनजीका डामियन राभू र चाड सोपरले २-२ विकेट लिएका छन्।
अहिले रोहित पौडेल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्। नेपालले २७ ओभर चलिरहदा ५ विकेटको क्षतिमा ७८ रन जोडेको छ।
ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सक्यो।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।