अस्ट्रेलियाको क्रिकेट बोर्ड अर्थात् क्रिकेट अस्ट्रेलियाले अफगानिस्तानसंग नोभेम्बर २७ मा होबार्टमा खेलिने भनिएको एक मात्र टेस्टबारे महत्वपूर्ण फैसला गरेको छ।
अस्ट्रेलियाको क्रिकेट बोर्ड अर्थात् क्रिकेट अस्ट्रेलियाले तालिबान सत्ताले महिला क्रिकेटलाई प्रतिबन्ध लगाएमा अफगानिस्तानको पुरूष क्रिकेट टिमसँग नखेल्ने भएको छ।
क्रिकेट अस्ट्रेलियाले बिहिबार विज्ञप्ति जारी गर्दै जबसम्म अफगानिस्तानमा महिला क्रिकेट टिमलाई खेल्ने अनुमति हुँदैन तबसम्म अस्ट्रेलियाले अफगानिस्तानको आतिथ्य नगर्ने भन्दै महिला क्रिकेटलाई पनि समर्थन गर्नुपर्ने क्रिकेट अस्ट्रेलियाले स्पष्ट पारेको छ।
अस्ट्रेलिया र अफगानिस्तान बीच एशेज सिरिजअघि एउटा मात्र टेस्ट खेल्ने योजना थियो तर अफगानिस्तानमा भएको सत्ता परिवर्तन पछि यो खेल स्थगित गरिएको छ।
विश्वस्तरमा महिला क्रिकेटको विकासलाई गति दिनु क्रिकेट अस्ट्रेलियाको लागि महत्वपूर्ण भएको भन्दै क्रिकेट अस्ट्रेलियाले क्रिकेट खेल हाम्रो दृष्टिकोणमा सबैको लागि खेल हो र हरेक स्तरमा महिलाहरुको लागि क्रिकेटमा हाम्रो समर्थन रहेको बताएको छ।
‘मिडिया रिपोर्टहरुलाई आधार मान्ने हो भने अफगानिस्तानले महिला क्रिकेटलाई समर्थन गर्दैन। यस्तोमा हामि अफगानिस्तानलाई होबार्टमा प्रस्तावित टेस्टमा आतिथ्य नगर्ने बाहेक बिकल्प छैन। हामि अस्ट्रेलिया र तास्मानियन सरकारलाई यो महत्वपूर्ण विषयमा साथको लागि धन्यवाद दिन चाहन्छौं,’ क्रिकेट अस्ट्रेलियाद्वारा जारि विज्ञप्तिमा भनिएको।
यसैबीच तालिबानले महिला क्रिकेटलाई समर्थन नगरे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि अफगानिस्तानको टेस्ट मान्यतासमेत खोस्न सक्छ। अफगानिस्तानको पछिल्लो घटनाक्रमलाई आइसीसीले नजिकबाट नियालिरहेको छ।
आगामी नोभेम्बरमा हुने आईसीसीको बोर्ड बैठकले यसबारे छलफल गर्ने भएको छ। कुनै पनि राष्ट्रले टेस्ट मान्यता प्राप्त गर्नका लागि अनिवार्य रूपमा महिला राष्ट्रिय टिम पनि हुनुपर्ने नियम छ।
अफगानिस्तान महिला क्रिकेट टिम २०१० मा बनेता पनि हालसम्म आईसीसी मान्यता प्राप्त प्रतियोगिता खेलेको छैन।