नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध शुक्रबार दोस्रो एकदिवसीय खेल खेल्दै छ।
नेपालले ओमानको अल अमारेतमा दोस्रो खेल खेल्न लागेको हो।
डे नाइट म्याच नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरु हुनेछ।
यसअघि नेपालले पिएनजीविरुद्धको पहिलो एकदिवसीय खेलमा २ विकेटको जित निकालेको थियो।
नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पिएनजीसँग एकदिवसीय खेल खेलेको हो।
नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ।
नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।