आइसिसी टी-२० विश्वकप २०२१ का लागि अफगानिस्तानले राष्ट्रिय टिम घोषणा गरेको एक घन्टा बित्न नपाउँदै रासिद खानले कप्तान पद त्याग गरेका छन्।
उनले टिम छनोटको विषयमा असहमति जनाउँदै टिमको कप्तानी छाड्ने निर्णय गरेका हुन्। टिम छनोट गर्दा कप्तान रूपमा कुनै सल्लाह नगरेकमा रासिदको असन्तुष्टि छ।
‘छनोट समिति र अफगानिस्तान क्रिकेट बोर्डले टिम छनोट गर्दा मसँग कुनै सल्लाह गरेको छैन,’ रासिदले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेका छन्।
रासिदले कप्तान पद त्याग गरेपछि अब अलराउन्डर मोहमद नाबीलाई कप्तान बनाउने तयारी गरिएको छ।
अफगानिस्तान क्रिकेट बोर्डले टिम घोषणा गरेको २२ मिनेटपछि नै रासिदले आफू कप्तान नबस्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए।
गत जुलाईमा अफगानिस्तान क्रिकेट टिमका प्रमुख छनोटकर्ता असदुल्ला खानले अत्याधिक हस्तक्षेप भएको बन्दै राजीनामा दयएका थिए। उनले क्रिकेट बाहिरका मानिसले हस्तक्षेप गरेको आरोप लगाएका थिए।
यता तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानको क्रिकेट भविष्य अनिश्चित बन्दै गएको छ।
तालिबानले केही दिनअघि सरकार घोणषा गरेको थियो। त्यसपछि उसले महिलालाई खेलकुदबाट टाढा राख्ने निर्णय गरेको थियो।
जसका कारण अफगानिस्तानको टेस्ट मान्यता समेत गुम्ने देखिन्छ। किनभने आइसिसीको पूर्ण सदस्यको मान्यता पाउन महिला टिम हुनु अनिवार्य छ।
यता अस्ट्रेलियाले महिलालाई खेलबाट अलग गरे अफगानिस्तानविरुद्धको क्रिकेट सिरिज नखेल्ने चेतावनी दिएको छ।
क्रिकेट अस्ट्रेलियाले तालिबान सत्ताले महिला क्रिकेटलाई प्रतिबन्ध लगाएमा अफगानिस्तानको पुरूष क्रिकेट टिमसँग नखेल्ने बताएको हो।
अस्ट्रेलियाले अफगानिस्तानसँग नोभेम्बर २७ मा होबार्टमा एक टेस्ट खेल्ने तय छ।