पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।
खेल ओमानको अल अमारेतमा हुँदैछ।
डे नाइट म्याच नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरु हुनेछ।
नेपालले टिममा तीन परिवर्तन गरेको छ। विनोद भण्डारी, करण केसी र सुसन भारीले पहिलो रोजाइमा स्थान पाएका छन्। अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफ टिममा छैनन्।
नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, विक्रम शोव, कुशल मल्ल, करण केसी, विनोद भण्डारी, सुसन भारी
यसअघि नेपालले पिएनजीविरुद्धको पहिलो एकदिवसीय खेलमा २ विकेटको जित निकालेको थियो।
नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पिएनजीसँग एकदिवसीय खेल खेलेको हो।
नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ।