पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका दुवै ओपनर आउट भएका छन्।
ओमानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आसिफ शेख ३ रनमा आउट भए। उनी ६ बल खेल्दा पिएनजीका कौना भागीको बलमा आउट भए।
लगत्तै अर्को ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ३ रनमै पेभिलियन फर्के। १० बल खेलेका उनलाई पिएनजीका भानुआले विकेटकिपरबाट क्याच गराए।
अहिले रोहित पौडेल र कप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङ गरिरहेका छन्।
नेपालले ५ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै १३ रन बनाएको छ।
यसअघि नेपालले पिएनजीविरुद्धको पहिलो एकदिवसीय खेलमा २ विकेटको जित निकालेको थियो।
नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पिएनजीसँग एकदिवसीय खेल खेलेको हो।
नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ।