एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा सहभागी टिम भैरहवा ग्लाडियटर्सले तेस्रो विदेशी खेलाडीको रुपमा बंगलादेशका तमिम एकबाललाई टिममा भित्र्याएको छ।
३२ वर्षीय ब्याट्सम्यान तमिमले बंगलादेशका लगि ६४ टेस्ट, २१९ एकदिवसीय र ७८ टी-२० खेलेका छन्।
उनी बंगलादेशका लागि टेस्ट र एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले एकदवसीय खेलमा ७ हजार ६ सय ६६ रन र टेस्टमा ४ हजार ७ सय ८८ रन बनाइसकेका छन्।
उनले टेस्टमा ९ शतक र एकदिवसीय खेलमा १४ शतक प्रहार गरेका छन्। उनी सन् २००७ देखि बंगलादेशको टिममा छन्।
आगामी महिना हुने प्रतियोगिताका लागि भैरहवाले यसअघि श्रीलंकाका पूर्व कप्तान तथा ओपनर उपुल थारंगा र तीव्र गतिका बलर धम्मीका प्रसादलाई भित्र्याएको थियो।
यस संस्करणको इपिएल आगामी असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा साविक विजेता ललितपुर प्याट्रिओट्ससँगै काठमाडौं किंग्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्।
विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख पाउने आयोजक इपिएल प्रालिले जनाएको छ।
अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो।