आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले नेपाल र अमेरिकाबीच खेल भइरहेको छ।
ओमानको अल अमिरत क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अमेरिकाको नेपालले ५ विकेट लिएको छ।
नेपालका लागि विक्रम शोव, सन्दीप लामिछाने, कुशल मल्ल र सुसन भारीले एक एक विकेट लिएका छन् भने अमेरिकाका एक ब्याट्सम्यान रनआउट भएका छन्।
विक्रमले स्टेभिन टेलरलाई १४ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदा सन्दीपले सुशान्त मोदानीलाई १६ रनमा एलबिडब्लूको धरापमा पारे।
कुशल मल्लले निशर्ग पटेललाई २१ रन बनाएर खेलिरहदा बोल्ड गरे। यस्तै केन्जिगे १३ रनमा रनआउट भए।
सुसनले जसकरण मल्होत्रालाई ११ रनमा आउट गरे।
अमेरिकाका विकेटकिपर मोनाक पटेलले अर्धशतक बनाएका छन्।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।
सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो।
सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।
नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।