आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र घरेलु टिम ओमानबीच खेल हुँदैछ।
अल अमिरत क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ।
लिग-२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो।
हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ।
पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्यो। नेपालको जितमा ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।
सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।
नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।
खेल तालिका
नेपाल भर्सेस अमेरिका – भदौ २८
ओमान भर्सेस नेपाल – भदौ २९
ओमान भर्सेस अमेरिका – भदौ ३१
नेपाल भर्सेस अमेरिका – असोज १
ओमान भर्सेस नेपाल – असोज ३
ओमान भर्सेस अमेरिका – असोज ४
सबै खेल सुरू हुने समय – दिउँसो ४:१५ बजे
स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान