आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टिम ओमानले नेपाल र अमेरिकाविरुद्धको सिरिजमा लगातार दोस्रो खेलमा जित हात पारेको छ।
बिहीबार अल अमिरत रंगशालामा भएको खेलमा ओमानले अमेरिकालाई ४ विकेटले पराजित गर्यो। यसअघि ओमानले नेपाललाई हराएको थियो।
बिहीबार पहिले ब्याटिङ गरेको अमेरिका ४४.४ ओभरमा १७८ रनमै अलआउट भयो। अमेरिकाका लागि करिमा गोरेले ४४ रन र इलमोर हचिनसनले नटआउट ४९ रन बटुले।
बलिङमा ओमानका बिलाल खान, मोहमद नदीम र आयन खानले समान २-२ विकेट लिए।
१७९ रनको लक्ष्य ओमानले २ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पूरा गर्यो।
खराब सुरुवात गरेको ओमानका लागि जीसन मक्सुदले ३१ रन, मोहमद नदीमले ३२ रन र सुरज कुमारले ३५ रनको योगदान दिए।
सन्दीप गोउदको नटआउट २७ रन पनि ओमानको जितमा महत्वपूर्ण सावित भयो।
लिग-२ मा ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ। नेपालले ६ खेलबाट ६ अंक जोडेको छ।