सुरक्षाको कारण देखाउँदै न्युजिल्यान्डले पाकिस्तानसँगको क्रिकेट सिरिज रद्द गरेको छ।
तीन खेलको एकदिवसीय र पाँच खेलको टी-२० सिरिज खेल्न पाकिस्तानमा रहेको न्युजिल्यान्डले पहिलो एकदिवसीय खेल सुरु हुन केही घन्टाअघि सिरिज नखेल्ने निर्णय गरेको हो।
न्युजिल्यान्डको सरकारले सुरक्षा खतरा रहेको जानकारी दिएपछि सिरिज नखेल्ने निर्णय गरेको न्युजिल्यान्डको क्रिकेट बोर्डले जनाएको छ।
न्युजिल्यान्डले शुक्रबार रावलपिन्डीमा पहिलो एकदिवसीय खेल खेल्दै थियो। तर टस गर्न ढिलाइ भएको थियो।
त्यसपछि न्युजिाल्यन्ड क्रिकेटले विज्ञप्ति जारी गर्दै न्युजिल्यान्डले सिरिज नखेल्ने निर्णय गरेको जनाएको थियो।
अब न्युजिल्यान्ड क्रिकेट टिम पाकिस्तान छाडेर स्वदेश फर्कनेछ।
न्युजिल्यान्ड क्रिकेट टिम १८ वर्षपछि पाकिस्तान भ्रमणमा गएको थियो।
‘म बुझ्दछु कि यो पीसीबीका लागि एउटा झड्का हुनेछ, उनीहरू राम्रा आयोजक हुन्, तर खेलाडीहरुको सुरक्षा सर्वोपरि छ र हामी विश्वास गर्छौं कि यो मात्र जिम्मेवार विकल्प हो,’ न्युजिल्यान्ड क्रिकेटका मुख्य कार्यकारी डेभिड ह्वाइटले भनेका छन्।
यता पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्यान्डको निर्णयले क्रिकेटप्रेमीलाई दु:खी पार्ने बताएको छ।