आइसिसी विश्वकप लिग-२ मा नेपाल दुई स्थान उक्लिएको छ। आइतबार शीर्ष स्थानको ओमानलाई ७ विकेटले पराजित गरेसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा पुगेको हो।
नेपालले लिग २ मा ८ खेल खेलेको छ। ८ मध्ये समान ४ जित र ४ हार बेहोरेको नेपालको ८ अंक छ।
७ खेलबाट ८ अंक नै जोडेको नामिबिया पाँचौ स्थानमा झरेको छ। नामिबियालाई नेपालले रनरेटमा पछि पारेको छ।
अंक तालिकामा नेपालभन्दा पछि रहेको छैटौं स्थानको युएईको ७ खेलबाट ७ अंक छ। पुछारको पपुवा न्युगिनीले अंक जोड्न सकेको छैन।
शीर्ष स्थानको ओमानको १३ खेलबाट २० अंक छ। अमेरिका १५ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा छ। तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ अंक छ।
नेपालद्वारा ओमान पराजित
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।
आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।
लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो।
आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा गर्यो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे।
ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए।
ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे। आसिफले ४४ बलमा ७ चौका प्रहार गरे।
रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो।
ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे।
ओपनर जतिन्दर सिंहले १३ रन र नसीम खुसीले १२ रन बटुले। यस्तै कलीमुल्लाहले ११ रन जोडे। ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिन सफल भए। करणले ८ ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए।
सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दा १८ रन दिए।
एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका शरद भेषवाकरले २ विकेट लिन सफल भए।
ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमा दुई खेलमा जित र दुई खेलमा हार बेहोर्यो।
नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पिएको थियो।